Chauthoanga - Nepali News Media
सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ : शिक्षामन्त्री पौडेल
devendra_paudel_1_EHIOFYJxhp.jpg

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालका सार्वजनिक विद्यालयलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासंघसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिए । 


मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताए ।


विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य र मेहनतका कारण विद्यालयको शैक्षिक स्तरमा सुधार आएको बताए । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । मुलुकभरमै अब्बलमध्येको एक सामुदायिक विद्यालयका रुपमा रहेको सो विद्यालयको स्थापना विसं २००३ मा भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको