Chauthoanga - Nepali News Media
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : चार हजार १५७ विद्यालय  छनोट
IMG_9878_VyIYjR45Lc.jpg

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको हो । जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ । 


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका अनुसार ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आइसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । 


राष्ट्रपति शैक्षिक सुधारका लागि  ७ अर्ब ८५ करोड ५१ लख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताए। ‘देशभरका विद्यालयको भौतिक संरचना, आइसीटी व्यवस्थापन गर्ने अभियानमा छौं,’मन्त्री पौडेलले भने, ‘निवेदन दिन बाँकी रहेका पालिकाहरूलाई सम्बोधन गर्छौं ।’


देशका ७ सय ३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आइसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए । 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको