Chauthoanga - Nepali News Media
वैशाख ३० गते हुने पालिका चुनावका लागि आचारसंहिता आज राति १२ बजेदेखि लागू हुने
election_commission_zctoNK8lFa.jpg

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि आज शुक्रवार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको बैठकले भरे राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले चुनावको ३४ दिनअघिदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको बताउनुभयो । आचारसंहिता यसअघि नै नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आचारसंहितामा गर्न पाइने र गर्न नपाइने कुरा खुलाइएको छ । आचारसंहितामा शैक्षिक संस्थामा निर्वाचनसम्बन्धी भेला, प्रचार गर्न नहुने व्यवस्था गरिएको छ । 

यस्तै सार्वजनिक सम्पत्ति कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न नहुने, चुनावसँग सम्बन्धित सूचनालाई बिगार्न नहुने कुरा पनि आचारसंहितामा उल्लेख छ । राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, टी–सर्ट, टोपी, लकेट अगायत कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने भएको छ । १८ वर्षमुनिका बालबालिकालाई प्रचारमा सामेल गर्न पाइने छैन । 

नेपाल सरकार, प्रदेश सरकार र पालिका सरकारका पदाधिकारीले आचारसंहिता लागू भएपछि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएमा भने आफ्नो प्रचार गर्न पाउनेछन् । अब नयाँ योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण, अध्ययन पनि गर्न पाइने छैन । त्यस्तै पुरस्कार, सम्मान वितरण गर्न पाउने छैनन् भने निर्वाचन आयोगको स्वीकृति नलिइ कर्मचारी सरुवा, बढुवा र नियुक्ति गर्न पाइने छैन । शिक्षकले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । 

 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको