Chauthoanga - Nepali News Media
दाङमा  दर्ताबिना खुलेका चर्चको विवरण संकलन गर्दै सीडीयो कार्यालय

दाङ- जिल्ला प्रशासन कार्यालय दाङले गाउँगाउँमा खुलेका चर्चहरूको रेकर्ड संकलन गर्न थालेको छ । दर्ताबिना नै गाउँगाउँमा चर्चहरू खोल्ने देखि भवनहरू समेत निर्माण हुन थालेपछि कार्यालयले पालिकामा सञ्चालनमा रहेका चर्च र तीनका संचालनकहरुको विवरण संकलन गर्न थालेको हो ।

दाङमा करिब २५० वटा चर्चहरू सञ्चालनमा रहेको अनुमान गरिए पनि जिल्ला प्रशासन कार्यालयमा भने २ वटा मात्रै चर्चहरू दर्ता भएर  सञ्चालनमा रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार दमारगाउँ चर्च र इसाई समुदाय दाङ, मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

दाङमा दर्ताबिना सयौँको सङ्ख्यामा चर्चहरू सञ्चालनमा रहेको जानकारी आएकाले सबै पालिकाबाट विवरण संकलन गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी पुनले कति पालिकाहरुबाट विवरणहरू समेत आइसकेको बताउनुभयो ।

दर्ताबिना सञ्चालनमा रहेका चर्चहरूको विषयमा प्रमुख जिल्ला अधिकारीसँग केही दिनमै बसेर टुङ्गो लगाउने पुनले बताउनुभयो । तुलसीपुरमा  करिब २५ वटा चर्चहरु संचालनमा रहेकाे बुझीएकाे छ ।  येशूमा विश्वास गर्ने इसाई समुदायका मानिसहरू जमघट भएर संगति वा आरधना गर्ने थलोलाई मण्डली वा चर्च भन्ने गरिन्छ । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको