Chauthoanga - Nepali News Media
बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले भोली जवाफ दिनुहुने

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम असन्तुलित भएको, सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमसँगको तालमेललाई ध्यान दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरी बजेटमा समेट्न सुझाव दिनुभयो ।

छलफलमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नीति तथा कार्यक्रम र सिद्धान्त र प्राथमिकका विषयलाई बजेटले बेवास्ता गरेको बताउनुभयो । 

उहाँले बजेटले अर्थतन्त्रको चुनौती नचिनेको र समाधानको विकल्प दिन नसकेको बजेट यही रुपमा पारित गरेर कार्यान्वयनमा लैजाने हो भने अर्थतन्त्रको समस्या झन जटिल र विकराल बन्दै जाने बताउनुभयो । उहाँले बजेटले मुलुकको अर्थतन्त्रको समस्या चिर्न नसकेको र विद्यमान अर्थतन्त्रको अवस्थालाई बेवास्ता गरी आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनु भयो ।

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपालमा परम्परागत शैलीमा बजेट आउने आएको र छलफल, विरोध र समर्थन पनि परम्परागत ढङ्गबाटै भइरहेको भन्दै यसमा सुधार गर्नुपर्ने बताउनुभयो । सांसद गिरीले अर्थमन्त्री जो बन्यो उसले क्षेत्र र ठूला नेताको जिलमा मात्रै बजेट जाने परम्परागत शैली परिवर्तन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम भन्दा भिन्न रुपमा बजेट आएको बताउनुभयो । सांसद शाहीले आर्थिक सङ्कटलाई दीर्घकालीन रुपमा समाधान गर्न लगानी मैत्री वातावरण सिर्जना नगरी समस्या समाधान गर्न नसकिने भएकाले लगानीका क्षेत्र पहिचान गरी बजेट केन्द्रित गर्नु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले बजेटमा वातावरणीय प्रभाव स्थिर, वनमा सहजीकरण, ‘स्टार्टप र इन्नोभेसन’लाई प्राथमिकता, वैदेशिक लगानी भित्र्याउने जस्ता राम्रा कार्यक्रम आउनु सकारात्मक रहेको भन्दै बजेटले गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय निर्माण, सहरी व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटले ध्यान दिनु पर्ने बताउनुभयो । 

बजेटमा केही कुरा राम्रा रहेपनि कतिपय कार्यक्रम महत्त्वाकाङ्क्षी रहेको भन्दै सांसदहरुले कर प्रणाली न्यायोचित नरहेको र विनियोजित कार्यक्रम निर्वाचन क्षेत्रका आधारमा सन्तुलित नभएको गुनासो गर्नुभयो । सांसदहरुले बजेटको आकार अवास्तविक रहेको स्वीकार गर्नुपर्ने भन्दै राजश्व सङ्कलन घटिरहेको अवस्थामा बजेटमा लिइएको लक्ष्यमा पुग्न सकिने अवस्था नरहेकाले समयमा नै ध्यान दिनु पर्ने बताउनुभयो । 

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सामान्य छलफलमा सांसदहरुले धारणा राख्ने क्रम सकिएको छ । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका विषयमा अर्थमन्त्री डा. प्रकाश शरण महतले भोली बस्ने प्रतिनिधि सभाको बैठकमा जवाफ दिने सभामुख देवराज घिमिरेले जानकारी गराउनु भएको छ । 

कार्यसूचीमा रहेका अन्य विषय आजको कार्यसूचीबाट हटाइएको समेत सभामुख घिमिरेले बैठकमा जानकारी गराउनुभयो । प्रतिनिधि सभाको बैठक भोली दिउसो १ बजे बस्ने छ । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको