Chauthoanga - Nepali News Media
ललिता निवास प्रकरण : पक्राउ पर्नेको सङ्ख्या ६ पुग्यो

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार बाठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले मालपोत कार्यालय, डिल्ली बजारका पूर्व खरिदार गोपाल कार्कीसहित ६ जनालाई पक्राउ गरिसकेको जानकारी दिनुभयो ।

प्रवक्ता कडायतका अनुसार पक्राउ पर्नेमा भाटमटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भूपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की हुनुहुन्छ । 

सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

वि.सं. २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । त्यसपछि अनुसन्धान जारी रहेको बताए पनि थप प्रगति भएको थिएन । पछिल्लो चरणमा भने सिआइबीले अनुसन्धान तीव्र पारेको थियो ।

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।

सिआइबीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले ललिता निवासको जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको