Chauthoanga - Nepali News Media
दाङमा जातिय विभेद गरेको अभियोगमा एक घरबेटी पक्राउ

दाङ - दाङमा जातिय विभेदगरेको अभियोगमा एक घरबेटी पक्राउ परेका छन् । आफ्नो घरमा भाडामा वसेकाहरु दलित भएको थाहापाएर घरवेटीले घरबाट निकाले पछि घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी ताराप्रसाद पोखरेललाई दाङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले पक्राउ परेका घरबेटी पोखरेललाई अनुसन्धान अगाडी बढाएको जानकारी दिनुभयो । 

पक्राउ परेका पोखरेलको घरमा बसिरहेका अछाम पञ्चल देवल न.पा.७ पुल्तोला घर भई हाल घोराही १७ मा बस्दै आएका महेन्द्र बिक र हुम्ला अदानचूली गा.पा.३ हुम्लाका अंगराज परियारलाई लाई घरवेटीले घर निकाला गरेका थिए । दलित भएकैकारण घरनिकाला गरेपछि पिडितहरुले दाङ प्रहरी समक्ष जाहेरी दिएका थिए । पक्राउ परेका पोखरेलले ‘तिमीहरू कामी दमाई रहेछौं ,घर बनाए देखि दलितलाई छिर्न दिएको छैन। तिमिहरु घरमा आएदेखि म बिरामी छु, भन्दै घरबाट निकालिदिएको ’ पीडित महेन्द्र विकले जानकारी दिनुभयो ।

पोखरेलको घरमा अङ्राज परियार सहित तीन जना एउटा कोठामा र महेन्द्र विक र उहाँको श्रीमती अर्को कोठा गरी दुईवटा कोठा भाडामा लिएर बसेका थिए । घरबेटी ताराप्रसाद पोखरेलले शुक्रबार साँझ भाडामा बसेकाहरुलाई त्यस्तो ब्यबहार गरेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका पोखरेललाई जातीय छुवाछूत विरुद्धको कसुरमा मुद्दा दर्ता गरि कार्वाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत बिभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरि विरोध जनाएका छन् ।

साथै दोषीमाथि कारवाहीको माग गरेका छन् । जातीय भेदभाव उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ ले "कानुनका सामु सबै जातजाति समान हुनेछन् ।" भन्ने प्रमुख अवधारणालाई आत्मसात् गरेको छ । नेपाल सन् १९७१ देखि नै यस अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र भएको र उक्त महासन्धिको प्रावधानलाई नेपालको संविधान र नेपालको जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय) ऐन, २०६८ ले स्वीकार गरेको छ । 

संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकका रूपमा राखेको छ। त्यहाँ उल्लेख भएबमोजिम कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनेको छ । यस्तो कसूर गर्नेलाई जातिय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बमोजिम जातिय भेदभावको कसूर गर्ने वा गराउने व्यक्तिलाई तिन महिता देखि तिन वर्षसम्म कैद  पचास हजार देखि दुईलाख सम्म जरिवानाको व्यवस्था रहेको छ ।


 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको