Chauthoanga - Nepali News Media
राप्ती तटबन्ध गर्न बृहत् आयोजना

देउखुरी - गढवा गाउँपालिका–२ पचाहा निवासी शनिराम चौधरीको जग्गा राप्ती नदीमा आउने बाढीले कटान गर्दै आएको छ । राप्तीमा उर्लने बाढीले एक प्रकारको त्रास थप्दै आएकोमा अब भने समस्या समाधान हुने आशामा शनिराम हुनुहुन्छ । किनभने राप्ती नदीमा बृहत् तटबन्ध शुरु भएको छ । जसले गर्दा शनिरामलगायत धेरैको जग्गा सुरक्षित हुने भएको छ । ‘बाढी आउँदा सधै त्रास हुन्थ्यो । सधै खेत कटान गरेर सताउँथ्यो’– उहाँले भन्नुभयो– ‘अब तटबन्ध हुँदैछ । बाढीले कटान गर्दैन भन्ने ढुक्क हुन थालेको छु ।’ भोजराज चौधरीलाई पनि नदीमा आउने बाढीले पु¥याउने क्षतिकै चिन्ता थियो । तटबन्धले नदी कटान र डुबानको समस्या समाधान भएपछि उहाँ खुशी हुनुहुन्छ । ‘गाउँसम्म बाढी पस्थ्यो । धान खेत बगाउँथ्यो । हाम्रो धेरै जग्गा नदीमै छ’– उहाँले भन्नुभयो– ‘जे जति छ, त्यो तटबन्धले बचायो । यसैमा चित्त बुझाउनुपरेको छ ।’

राप्ती नदीमा एशियाली विकास बैंकको ऋण सहयोगमा जनताको तटबन्ध कार्यक्रमबाट बृहत् तटबन्ध शुरु भएको छ । जसले गर्दा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन् । सधै बाढीको त्रासमा रहेन स्थानीयहरु तटबन्ध शुरु भएपछि ढुक्कको सास फेर्न पाएको बताएका छन् । छिटो तटबन्ध सकेर राप्ती नदी किनारका बस्तीलाई सुरक्षित बनाउन आग्रह समेत गरेका छन् । राप्ती नदीको दाङ र बाँकेको खण्डमा बृहत् तटबन्धको काम अघि बढेको हो । दाङमा गढवा गाउँपालिका र लमही नगरपालिकाका छ स्थानमा करिब आठ किलोमिटर पाँच सय ४५ मिटर लामो तटबन्ध निर्माण शुरु भएको छ । ७१ करोड ६६ लाखको लागतमा राप्तीमा तटबन्ध शुरु भएको जनताको तटबन्ध कार्यालय लमहीका आयोजना प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तटबन्ध निर्माणको काम सकिएपछि नदी किनारका दर्जनौं बस्ती र सैयौं विगाह जग्गा सुरक्षित हुने बताउनुभयो । ‘जहाँ कटानको जोखिम थियो । जहाँ बाढीको सबैभन्दा बढी समस्या थियो त्यहाँ काम गर्न थालिएको छ’– उहाँले भन्नुभयो– ‘यो कामबाट धेरै बस्ती सुरक्षित हुनेछन् ।’

कालिका कन्स्ट्रक्सन प्रालिले तटबन्धको काम अघि बढाएको हो । ०७९ पुस ४ गते ठेक्का सम्झौता भएको थियो । जस अन्तर्गत अहिले दुईवटा स्थानमा निर्माण कम्पनीले काम अघि बढाएको छ भने बाँकी चार स्थानको काम शुरु गर्ने तयारी गरेको छ । ‘केही ठाउँमा जग्गाको विवाद छ । त्यो समस्या समाधान हुने बित्तिकै काम अघि बढ्छ’– जनताको तटबन्ध कार्यालयका इञ्जिनियर विशाल थापाले भन्नुभयो– ‘स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्दै कार्म अघि बढाउने गरी काम भइरहेको छ ।’ अहिले गढवा गाउँपालिका वडा नं. २ जेठानगाउँ र वडा नं. ७ को कान्छीगाउँमा तटबन्धको काम अघि बढिसकेको छ । बाँकी गढवा गाउँपालिका वडा नं. ३ को दङालीछाप कुलो क्षेत्र, वडा नं. ५ को तकियापुर र लमही नगरपालिकाको वडा नं. ४ को बुटकौवा, वडा नं. ६ को बलरामपुरमा तटबन्ध गर्ने योजना छ । जेठानगाउँमा एक हजार सात सय ५० मिटर, दंगालीछाप कुलो क्षेत्रमा दुई हजार एक मिटर, तकियापुरमा दुई हजार पाँच सय दुई मिटर, बुटकौवामा एक हजार ५० मिटर, बलरामपुरमा पाँच सय एक मिटर, कान्छीगाउँमा सात सय ४१ मिटर लामो तटबन्ध गर्ने कार्यक्रम छ ।

तटबन्ध गर्न ढुंगा अभाव

एसियाली विकास बैंकको ऋण सहयोगमा शुरु भएको तटबन्ध गर्न ढुंगाको अभाव भएको छ । चुरे र वन क्षेत्रमा ढुंगा भए पनि निकाल्न कानुनी जटिलता हुँदा समस्या परेको छ । यसका साथै तटबन्ध गर्न चाहिने ग्राभेल राप्ती नदीकै प्रयोग गर्नेगरी स्टिमेट तयार छ । जसमा स्थानीय सरकारलाई राजश्व समेत बुझाउन नसक्ने गरी स्टिमेट स्वीकृत भएकाले सोही अनुसार तटबन्धको काम गर्न सहजीकरण आवश्यक परेको जनताको तटबन्ध कार्यालयले जनाएको छ । ‘तटबन्ध अघि बढाउन ढुंगाको अभाव छ । त्यसका लागि कानुनी प्रक्रियाहरु पूरा गरेर अघि बढ्ने तयारी छ’– कार्यालयका आयोजना प्रमुख धर्मकुमार न्यौपानेले भन्नुभयो– ‘ढुंगा निकाल्ने स्थानको पहिचान गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउने योजना बनेको छ ।’ तटबन्ध सम्पन्न गर्न चार लाख ७५ हजार घनमिटर ग्राभेल र एक लाख २० हजार घनमिटर ढुंगा चाहिने देखिएको छ ।

‘जहाँ तटबन्ध गर्ने हो त्यस वरपर चार सयदेखि पाँचसय मिटर वरपरबाट ग्राभेल निकाल्ने र त्यसलाई तटबन्धको ड्याम बनाउन प्रयोग गर्ने, अनि ढुंगा पनि खहरे खोलाबाट निकाल्ने गरी स्टिमेट स्वीकृत भएको छ’– न्यौपानेले भन्नुभयो– ‘नदी कटान, डुबानको समस्या समाधान गर्न तटबन्ध एउटा महत्वपूर्ण आयोजना हो ।’ तटबन्ध गर्दा चाहिने ग्राभेल राप्ती नदीबाटै संकलन गरिने, जसमा ठूला मेसिनको प्रयोग गरिने उल्लेख छ । तटबन्धको लागि उत्खनन् गरिएको ग्राभेल तटबन्धकै काममा प्रयोग हुने र बाहिर गएको पाइएमा कारवाही गरिने आयोजना प्रमुख न्यौपानेको भनाइ छ । तटबन्ध गर्दा प्रयोग गरिएको ग्राभेलको राजश्व स्थानीय सरकारले उठाउन पाउने छैन । ढुंगाको भने रोयल्टीका लागि बजेट विनियोजन गरिएको छ । ‘८० किलोमिटर लामो राप्ती छ । नदीजन्य सामग्रीको भकारी हो । ग्राभेल वैज्ञानिक र व्यवस्थितरुपमा उठाउनुपर्नेछ’– आयोजना प्रमुख न्यौपानेले भन्नुभयो– ‘राप्तीको ८० प्रतिशत पटानको समस्या हो । खेत र नदीको सतह बराबर हुन थाल्यो । यसले कटान, डुबानको समस्या निम्त्याउने खतरा रहन्छ ।’

प्रतिनिधिसभा सदस्य चौधरीको पहल

प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राप्ती करिडोर निर्माणलाई लक्षित गरेर शुरु भएको बृहत् राप्ती तटबन्ध अभियानलाई तीब्र पार्न पहल लिनु भएको छ । तटबन्ध आयोजनासँग जोडिएका निकायहरुको बीचमा मंगलबार लमहीमा छलफल आयोजना गरेर हाल देखिएका समस्या समाधान गर्न पहल लिनुभएको हो । ‘राप्ती नदीमा वर्षेनि हुने डुबान कटानको समस्या समाधान गर्न आयोजना कोशेढुंगा सावित हुनेछ’– प्रतिनिधिसभा सदस्य चौधरीले भन्नुभयो– ‘पूर्वमा भालुबाङदेखि पश्चिममा बाँकेसम्मको दुबै किनारलाई कोरिडोरको रुपमा विकास गर्दै लैजाने योजना छ ।’ राष्ट्रिय गौरवका आयोजनालाई सम्पन्न गर्न सबै निकायको बीचमा समन्वय र सहकार्य आवश्यक रहेको भनाइ उहँँको छ । छलफल तथा स्थलगत अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीलगायत जनताको तटबन्ध आयोजना कार्यालयका प्रमुख धर्मकुमार न्यौपाने, निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।

छलफलबाट आयोजनाको लागि चाहिने नदीजन्य पदार्थको उत्खनन र व्यवस्थापनको लागि जिल्ला समन्वय प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायको सहभागितामा अनुगमन समिति बनाउने, ढुंगाजन्य वस्तु निकाल्ने सम्भावित ठाउँको पहिचान गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढाउने, डिभिजन वन कार्यालयले अघि बढाएको फाइल स्वीकृतिको लागि प्रदेश सरकारसँग समन्वय गर्ने, एक वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रतिबद्धता व्यक्त गराउने निर्णय भएको छ । नयाँयुगबोध दैनिक बाट

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको