Chauthoanga - Nepali News Media
अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लाग्दै : सीआईबी

काठमाडौं- केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै सीआईबीले एक वर्षमा विभिन्न शीर्षमा ४३ वटा मुद्दा दायर गरेको छ । सीआईबीले ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात (एक्सटर्सन) सम्बन्धी सकूर, जुवा सम्बन्धी कसूर, नागरिकता ऐन तथा लिखित सम्बन्धी कसूर, संगठित अपराध (सुन चोरी पैठारी), राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अन्तर्गतको कसूर, दूरसंचार हानी नोक्सानी, सहकारी ठगी, लिखतसम्बन्धी कसूर, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर र बैंकिङ कसूरमा मुद्दा दर्ता र आरोपीहरुलाई पक्राउ गरेको हो ।

आर्थिक अपराध अनुसन्धानको सिलसिलामो सहकारी ठगी–दुई, ठगी–चार, लिखत–एक र भीओआईपी– दुई गरी आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

यसअनुसार शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. भक्तपुर, ललितपुर र काठमाडौंका विभिन्न शाखाहरुबाट १७ अर्ब रकम अपचलन गरेर गठी गर्ने कार्यमा संलग्न संस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मासहित सात जनालाई विभिन्न मितिमा पक्राउ गरी आवश्यक कारबाही गरिएको सीआईबीको रिपोर्टमा उल्लेख छ ।

सीआईबीको रिपोर्टका आधारमा पृथ्वीबहादुर शाहको ठगी एवम् आपराधिक कार्यदेखि धर्मको नाममा ठगी गर्ने शिवसुत गौरी बाबालाई पनि कानुनी दायरामा ल्याएको छ ।

यस्तै, क्रिकेटमा सट्टेबाजी गराउने पूर्व राष्ट्रिय खेलाडी महवुव आलम, राष्ट्रिय खेलाडी मोहमद आदिल आलम र स्थानीय नितेश गुप्तालाई पनि कानुनी दायरामा ल्याइएको छ ।

वार्षिक अपराध अनुसन्धान प्रगति समिक्षमा लिखत, गठी, वैदेशिक रोजगार, नागरिकता ऐनअन्तर्गत कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उल्लेख छ ।

यसैगरी, सीआईबीले नेपाल सरकारको १४३ रोपनी जग्गा (ललिता निवास) संगठित रुपमा सरकारी छापा र दस्तखत किर्ते मुद्दामा मीन बहादुर गुरुङसहित १७ जनालाई पक्राउ गरी थप अनुसधान भइरहेको जनाएको छ ।

सीआईबीका अनुसार समाजको विकास क्रमसँगै अपराधको कार्यविधि र त्यसमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान सन्दर्भमा अपराध गर्ने शैली र अपराधिक गिरोहको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेकाले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गइरहेको छ । अपराधिक घटना र तथ्याङ्कको ग्राफ उकालो लागेसँगै अपराध अनुसन्धान कार्य प्राविधिक रुपमा अझै जटिल हुँदै गइरहेको सीआईबीको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको