Chauthoanga - Nepali News Media
आज, भोलि र पर्सि लुम्बिनी सहित ५ प्रदेशमा झरीको सम्भावना, बाढी–पहिरोको जोखिम

काठमाण्डाैः  आज, भोलि र पर्सि झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।लुम्बिनी प्रदेशसहित  बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पानी परेको थियो । यस्तै, मधेस प्रदेशको पश्चिम र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि गएराति पानी परेको थियो ।

मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशसहित कोशी, बाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गण्डकी प्रदेशका एक/दुई ठाउँमा राति नै आरीघोप्टे वर्षा हुने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले बताउनुभयो  ।

यस्तै, भोलि र पर्सि पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यसले गर्दा नदी, खोलामा बाढी आउने तथा पहिरो जाने खतरा रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको