Chauthoanga - Nepali News Media
माटोका भाँडा बनाउन नयाँ प्रविधि

दाङ- दाङको गढवा गाउँपालिका–१, पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन ।

परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका भाँडा पकाउन आधुनिक भट्टी निर्माण गरिदिएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजकुमार बताउनुहुन्छ । 

विगत २० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका राजकुमारले प्रविधिको सहयोगले धेरै सहज भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समय लाग्थ्यो तर अहिले मेसिनबाट एकै छिनमा माटो तयार हुन्छ । हातले चक्का घुमाउनु पनि पर्दैन न त भाँडा पकाउन नै समस्या हुन्छ ।” प्रविधिले गर्दा काम छिटो हुनुका साथै छोटो समयमा धेरै सामग्री उत्पादन गर्न सकिएको उहाँले बताउनुभयो । 

राजकुमारको जस्तै अनुभव छ, सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि । लामो समय परम्परागत रूपमा माटोका सामग्री बनाउँदै आएका ताराले विगत एक वर्षदेखि प्रविधिका माध्यमबाट माटो मुछ्ने, भाँडा बनाउनेदेखि आधुनिक प्रविधिबाट बनेको चुलोमा भाँडा पकाउने गर्दै आउनुभएको छ । 

प्रविधिको माध्यमबाट भाँडा बनाउने काम गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको भनाइ उहाँको छ । माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने भएपछि पछिल्लो समय प्रविधिले सहज बनाइदिएको उहाँहरूको भनाइ छ । 

ताराले भन्नुभयो, “परम्परागत रूपमा काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ पकाउँदा भाँडा फुटेर मेहनत नै खेर जाने अवस्था हुन्थ्यो । दाउरा पनि धेरै खर्च हुन्थ्यो तर अहिले कम दाउरामै धेरै भाँडा पकाउन सकिन्छ ।” 

प्रदेश सरकारको करिब १४ लाख रुपियाँमा आधुनिक भट्टी निर्माण भएपछि भाँडा बनाउन सहज भएको हो । उहाँले माटोबाट घैँटो, ठेकी, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री बनाएर बिक्री गर्दै आउनुभएको छ ।

पछिल्लो समय दसैँतिहारलगायतका पर्वमा बत्ती बाल्ने पाला, घरमा सजाउन, पुष्प राख्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने गरेको गढवा गाउँपलिका–३, खैरा निवासी कमला थारू कुमाल बताउनुहुन्छ । 

पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको कमला बताउनुहुन्छ । 

विशेष गरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाँडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उहाँ बताउनुहुन्छ । कुमाल समुदायको परम्परागत पेसाको संरक्षणसँगै गढवा गाउँपालिकालाई माटोको सेरामिक हब बनाउने तयारीमा गाउँपालिका लागेको गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरी बताउनुहुन्छ । 

ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहयोगमा माटोको भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पालिकाले काम सुरु गरेको उहाँ बताउनुहुन्छ । 

परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम भइरहेको गाउँपलिका उपाध्यक्ष चौधरीको भनाइ छ ।  गढवा गाउँपालिका–१ को पत्रिङ्गा, ३ को खैरा र ६ को गढवामा माटोका भाँडा बनाउने काम हुँदै आएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको