Chauthoanga - Nepali News Media
विश्व दृष्टि दिवस : दुई लाखले पाए दृष्टि

तुलसीपुर-राप्ती आँखा अस्पतालले स्थापनादेखि हालसम्म दुई लाख १२ हजार मोतियाबिन्दुको शल्यक्रियापछि नयाँ दृष्टि प्रदान  गरेको छ । 

नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालनमा आएको राप्ती आँखा अस्पतालले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा ४१ हजार जनाको निःशुल्क रुपमा मोतियाबिन्दुको  शल्यक्रिया गरेको छ । 

अस्पतालका निमित्त प्रशासन प्रमुख शालिकराम गौतमले ३४ लाखको आँखा चेकजाँच गरिएको तीमध्ये पाँच लाखको निःशुल्क रुपमा आँखाको चेकचाँच गरिएको छ । 

अस्पतालका नेत्र विशेषज्ञ डाक्टर आराधना पोख्रेलले उच्च रक्तचाप, मधुमेहका बिरामीले वर्षमा दुई पटक आँखाको चेकजाँच गर्नुपर्ने बताउनुभयो । उहाँले बजार क्षेत्रमा आँखाको चेकजाँचका लागि समस्या नभए पनि ग्रामीण क्षेत्रमा भने सचेतनाको अभाव रहेको बताउनुभयो । 

उहाँले नियमितरुपमा आँखा परीक्षण गर्दा दृष्टि गुम्ने खतराबाट जोगिने बताउनुभयो । यसैबीच कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस मनाइएको छ । 

नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी र नेत्रज्योति सङ्घको झन्डोत्तोलन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले झण्डोत्तोलन गर्नुभयो ।  

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले नगरवासीको दृष्टि जोगाउनका लागि उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रियाको व्यवस्था गरिएको बताउनुभयो । 

उहाँले अभिभावक सचेतनाको अभावमा बालबालिकाको दृष्टि गुम्ने खतरा भएकाले बालबालिकाको समेत नियमित रुपमा आँखा परीक्षण गर्न आग्रह गर्नुभयो । नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले संसारबाट दृष्टिविहीनता घटाउनका लागि सबैको दायित्व भएको बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको