Chauthoanga - Nepali News Media
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम

काठमाडौँ, -यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो वर्षको मनसुन आइतबारदेखि नेपालबाट बाहिरिएको थियो । मनसुन अवधिमा बाढीपहिरो, भीषण वर्षा, चट्याङसहितको विपत्मा परेर १६८ जना घाइते भएका छन् । त्यस्तै अझै ३० जना बेपत्ता छन् । प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले मनसुनजन्य विपत्मध्ये सबैभन्दा बढी पहिरोमा परेर ४५ जनाको ज्यान गएको बताउनुभयो । 

उहाँका अनुसार देशभर मनसुन अवधिमा ४५९ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परेर ५० जना घाइते भएका छन् भने अझै नौ जना बेपत्ता छन्। 

बाढीले बगाएर १६ जनाको ज्यान गएको छ । बाढीका कारण सात जना घाइते भए भने २१ जना अझै बेपत्ता छन् । भीषण वर्षाका कारण दुई जनाको मृत्यु र १२ जना घाइते भएका छन् । यस्तै गरी मनसुनी चट्याङले २९ जनाको ज्यान लिएको छ । अन्य ९९ जना घाइते भएका छन् । २०७१ सालदेखि नेपालमा बाढीपहिरोजन्य घटनाको बढोत्तरी हुँदा जनधनको क्षति उच्च रहे पनि २०७७ सालदेखि जनधनको क्षति पहिलेभन्दा कम हुँदै गएको प्राधिकरणले विश्लेषण गरेको छ । 

सबैभन्दा बढी २०७४ सालमा बाढीपहिरोजन्य प्राकृतिक विपत्तिले १५० जनाभन्दा बढीको ज्यान लिएको थियो । त्यसपछि क्रमशः कम हुँदै जानुमा औसतभन्दा कम वर्षा हुनु प्रमुख कारण रहेको प्राधिकरणका जलस्रोत विज्ञ राजेन्द्र शर्माले बताउनुभयो । औसत वर्षा भन्नाले ९० देखि ११० मिलिमिटरसम्मको वर्षालाई बुझाउँछ । यो वर्ष करिब ८८ मिलिमिटर हाराहारीमा मात्र वर्षा भएको अनुमान गरिएको छ । वर्षाको अन्तिम विश्लेषण जल तथा मौसम विज्ञान विभागले गरिरहेको छ । मनसुनमा समग्रमा कम वर्षा भए पनि खण्डीकृत रूपमा कुनै स्थानमा धेरै र भीषण वर्षा हुने क्रम भने बढेको छ । जसले गर्दा केही भेगमा क्षतिको दायरा बढेको छ । 

खड्काका अनुसार यस वर्ष गत जेठ ३१ गते नेपालमा भित्रिएको मनसुन १२४ दिन रहेर असोज २८ गते सरदर मितिभन्दा १३ दिनपछि पूर्ण रूपमा बाहिरिएको छ । मनसुन प्रवेश गरेकै दिनदेखि सुरु भएको निरन्तरको वर्षाले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो मानवीय तथा भौतिक क्षति भयो । 

प्रधानमन्त्री एवं विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनसुनजन्य घटनाबाट मानवीय क्षति हुन पुगेका र घरबारविहीन परिवारलाई राहत वितरण गर्न र निजी आवास पुनर्निर्माणमा सहयोग गर्न निर्देशन दिनु भएअनुसार विपत् पीडितलाई अस्थायी आवाससँगै सरकारका तर्फबाट राहत प्रदान गरिएको प्राधिकरणले जनाएको छ । 

मनसुन अवधिमा पहिरोका ४५९, भीषण वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कुल ८९२ घटना भए । मनसुनले कुल छ हजार १३० परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने २४३ निजी घरमा पूर्ण र ७२० वटा घरमा आंशिक क्षति पुगेको छ । निजी आवासतर्फ करिब ३३ करोड रुपियाँ बराबरको क्षति भएको अनुमान छ ।

भौतिक क्षति बढी 

मनसुनजन्य विपत्ले देशका विभिन्न स्थानमा भौतिक क्षति बढाएको छ । देशका विभिन्न भेगमा १५ वटा पक्की पुल भत्किँदा एक अर्ब २० करोड रुपियाँको क्षति भएको छ । त्यसै गरी २७ वटा झोलुङ्गे पुल भत्किँदा १२ करोड, सडक, कोरिडोर तथा राजमार्ग बगाउँदा २८ करोड रुपियाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले औँल्याएको छ ।

त्यस्तै खानेपानी संरचनामा करिब आठ करोड रुपियाँको क्षति हुनुका साथै कृषितर्फ ३२१ पशुचौपाया र एक हजार २३९ रोपनी खेतीयोग्य जमिन नष्ट भएको छ । सिँचाइतर्फ तीन करोड ५० लाख रुपियाँको क्षति भएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अनुसार सञ्चालनमा आइसकेका १३, निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युत्मा केन्द्रमा क्षति पुग्दा करिब नौ अर्ब रुपियाँ बराबरको क्षति पुगेको तथ्य सार्वजनिक गरिएको छ । 

मनसुन अवधिमा बझाङलाई केन्द्रबिन्दु बनाएर गएको यो वर्षको हालसम्मकै ठुलो ६.३ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भयो भने ३० जना घाइते भए । भूकम्पबाट तीन हजार १४८ घर पूर्ण रूपमा क्षतिग्रस्त भए । सो क्षेत्रका १९ हजार २२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान छ । त्यसै गरी १२४ सार्वजनिक भवन पूर्ण र २०५ मा आंशिक क्षति पुगेको छ । 

  

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको