Chauthoanga - Nepali News Media
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो

सुर्खेत - शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।

मृत्यु हुनेमा महिला ९९ र ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाइते हुनेको सङ्ख्या १६६ पुगेको छ ।

जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन् ।

यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाइते भएका छन् भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सख्त घाइतेमध्ये जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेतमा र २३ जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै रुकुम पश्चिमका ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा, १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा र ७ जनाकाे टिचिङ अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ । यसैगरी दैलेखका घाइतेहरूको जिल्ला अस्पताल दैलेख र जुम्लाका घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

संघ सरकारसँगको समन्वयमा कर्णाली प्रदेश सरकारले नेपाली सेनाका तीन वटा हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत र नेपालगञ्ज पुर्‍याइएको मन्त्री जिसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुर्खेतबाट भूकम्प प्रभावितहरूका लागि आज बिहान ७ ट्रक खाद्यान्न तथा त्रि–पाल, कपडा पठाइएको छ । थप राहत तथा सहायता सामाग्री नेपाली सेनाको स्काइ ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्ध स्तरमा भइरहेको मन्त्री जिसीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको