Chauthoanga - Nepali News Media
दाङ सहित पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक सुरु

दाङः दाङ सहित पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक सुरु भएको छ । विगतको समीक्षा र आगामी वर्षको योजना बनाउँदै मनाइने माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा लिने गर्दछन् । थारुहरू पुसको अन्तिम सातादेखि माघको पहिलो सातासम्म माघी मनाउँछन् । पुसको अन्तिम साता तयारीमा जुट्छन् र पुसको अन्तिम दिनदेखि करिब एक साता धुमधामका साथ माघी मनाउँछन् । 

दाङ सहित बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु गाउँ यतिबेला माघीको तयारीमा जुटेका छन् । थारु गाउँहरूमा मादलको धुनसँगै ‘सखिए’को मधुर स्वर गुञ्जिन थालेका छन् भने आफ्नो भेषभूषामा सजिएका थारु युवायुवतीहरू विभिन्न कार्यक्रम आयोजना गरी नाचगानमा व्यस्त छन् ।माघीमा थारुहरू आफ्ना परम्परागत नृत्यहरू प्रस्तुत गरी रमाइलो गर्ने गर्छन् । 

मघौटा, झुम्रा, हुरडुङ्ग्वा, छोक्रा लगायतका नाच थारु समुदायका मौलिक नाच हुन् । तर, माघीमा भने मघौटा गीत गाउने र यसैमा युवायुवती नाच्ने गर्छन् । मघौटा नाचमा नाच्ने महिलाले उत्तानो परी आँखाको परेला र मुखबाट नगद उठाउने गर्दछन्  । आधुनिकताको प्रभावले यी नाचहरू हराउँदै गएकोमा भने उनीहरूको चिन्ता छ ।

माघीमा समूहगत रुपमा वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा र सामाजिक कार्यको योजना बनाइने गरिन्छ । विगतमा माघीमै कमलरी राख्ने सम्झौता हुन्थ्यो । तर, सरकारले कमलरी मुक्त घोषणा गरेपछि भने कमलरी राख्ने चलन हराउँदै गएको छ । माघीमा विगतको समीक्षा र आगामी वर्षको योजना बनाउनुका साथै घरमूलीबाट वर्षभरिको आय–व्यय विवरण प्रस्तुत गर्ने चलन छ ।

थारु समुदायको सबैभन्दा ठूलो र लामो यो पर्वमा बडघर छान्ने काम पनि माघीमै हुन्छ । गाउँलाई रेखदेख गर्ने, चौकीदार, कपाल काट्ने नाउ, गाउँका अगुवा, कुल पूजाका लागि चिराकिया, गुरुवा, ओरगानको चयन पनि माघीमै गरिन्छ । संयुक्त परिवारमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय माघीमै हुन्छ भने विवाहको लगन जुराउने उत्तम साइत पनि यसैबेला निकालिन्छ । त्यसैले पनि यो पर्वलाई थारु समुदायले उल्लासपूर्ण तरिकाले मनाउने गर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको