Chauthoanga - Nepali News Media
ठूला भूकम्पहरूको नालीबेली

काठमाण्डाै – नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औँ स्थानमा रहेको विभिन्न अध्ययनहरूले जनाएका छन् ।

तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरू आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरू बताउँछन् । आठ सय वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले विध्वंस मच्चाएको छ । 

आठ सय वर्षयताका ठूला भूकम्पहरूको नालीबेली हेर्नुहोस् :

१) विसं १३१२ को भूकम्प (सन् १२५५)

यसभन्दा अगाडिको भूकम्पको कुनै अभिलेख नभए पनि विसं १२१८ मा गएको भूकम्पलाई भने पहिलो अभिलेख रहेको भूकम्प मानिन्छ । काठमाण्डौ केन्द्रविन्दु रहेको ७ दशमलव ८ रेक्टरको यस भूकम्पमा परि त्यस बेलाका राजा अभय मल्लको निधन भएको थियो । भूकम्पमा परेर २२ सय जना मानिसले ज्यान गुमाएका थिए । काठमाण्डौको त्यस बेलाको एक तिहाइ जनसङ्ख्याले भूकम्पका कारण मृत्युवरण गर्नुपरेको थियो ।

२) विसं १३१७ को भूकम्प (सन् १२६०)

सगरमाथा अञ्चल केन्द्रविन्दु भएर गएको यस भूकम्प ७ दशमलव १ रेक्टर स्केलको थियो । भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पकाे केन्द्रविन्दु सगरमाथा अञ्चलको कुन ठाउँ हाे भन्ने बारेमा भने जानकारी छैन ।

३) विसं १४०१ को भूकम्प (सन् १३४४)

७ दशमलव ९ रेक्टर स्केलको यस भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको मेची अञ्चल रहेको थियो ।

४) विसं १४६५ को भूकम्प (सन् १४०८)

नेपाल–तिब्बतको सीमा केन्द्रविन्दु भएर गएकाे यस भूकम्प ८ दशमलव २ रेक्टर स्केल रहेको थियो । भूकम्पमा परेर त्यस बेला २५ सय जनाले ज्यान गुमाएका थिए ।

५) विसं १५६२ को भूकम्प (सन् १५०५)

मुस्ताङ केन्द्रविन्दु भएर गएको विसं १५६२ को भूकम्प ८ दशमलव ९ रेक्टरको थियो । यो नै नेपालको इतिहासमा सबैभन्दा ठूलो भूकम्प मानिन्छ । भूकम्पका कारण त्यस बेला ६ हजार जनाको ज्यान गएको थियो । त्यस बेलाको जनसङ्ख्याको झन्डै ३० प्रतिशत मानिसले यही भूकम्पका कारण ज्यान गुमाएका थिए । भूकम्पको प्रभाव दक्षिणी चीन तथा भारतको उत्तरी भागमा पनि परेको थियो ।

६) विसं १७३८ (सन् १६८१)

कोशी अञ्चल केन्द्रविन्दु भएर गएको ८ रेक्टरको यस भूकम्पले त्यस बेला ४५ सय मानिसको ज्यान गएको थियो । तथ्याङ्क नभएका कारण कोशी अञ्चलमा कहाँ भूकम्पको केन्द्रविन्दु थियो भन्ने यकिन गर्न सकिँदैन ।

७) विसं १८२४ (सन् १७६७)

बाग्मती अञ्चलको उत्तरतर्फ केन्द्रविन्दु भएको यस भूकम्पले पनि ठूलो मानवीय क्षति पुर्‍याएको देखिन्छ । ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण त्यस बेला ४ हजार मानिसको ज्यान गएको थियो ।

८) विसं १८९० (सन् १८३३)

ठूलो भूकम्प भन्ने बित्तिकै हामीकहाँ धेरैलै विस १९९० को भूकम्प सम्झने गर्छन् । तर त्यसको ठीक एक सय वर्ष अगाडि पनि त्यत्तिकै ठूलो ८ रेक्टर स्केलको भूकम्प आएको थियो । जसको केन्द्रविन्दु काठमाण्डौ उपत्यकाको वरपर रहेको थियो । भूकम्पले नेपालका गाउँ, शहरमा धेरै ठूलो क्षति भएको थियो । त्यस्तै उत्तरी भारत तथा तिब्बतमा पनि भूकम्पले धेरै क्षति गरेको थियो । बङ्गलादेशको चित्तगाउँमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पका कारण ६ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । त्यस भूकम्पले भक्तपुर, साँखु र बनेपमा ठूलो क्षति भयो । 

९) विसं १९२६ (सन् १८६९)

काठमाण्डौ केन्द्रविन्दु रहेको यस भूकम्पका कारण ७ सय ५० जनाको ज्यान गएको थियो । भूकम्प ६ दशमलव ५ रेक्टर स्केलकाे मापन गरिएको थियो ।

१०) विसं १९७३ (सन् १९१६)

विसं १९७३ मा गएको ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले त्यस बेला ३ हजार ५ सय जनाकाे ज्यान गएको थियो । भूकम्पको धक्का तिब्बतसम्म पनि महसुस गरिएको थियो ।

११) विसं १९९० (सन् १९३४)

नेपालको इतिहासमा विसं १९९० माघ २ गते गएको भूकम्पलाई सबैभन्दा विनाशकारी भूकम्पको रूपमा लिइन्छ । सङ्खुवासभाको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्पमा ८ हजार ५ सय ९१ जनाको ज्यान गएकाे थियाे । घर, विद्यालय, मन्दिर, पाटीपौवा र सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

भूकम्पको प्रभाव भारतको बिहार, कोलकाता, मुम्बई तथा तिब्बतमा पनि परेको थियो । कोलकातामा पनि धेरै घरहरू भत्किएका थिए । बिहारको सीतामढीका कुनै घर सद्दे थिएनन् । बिहारमा भूकम्पले ७ हजार २ सय ५३ जनाको ज्यान गएको अभिलेख छ ।

१२) विसं २०२३ (सन् १९६६)

सुदूरपश्चिममा गएको ६ दशमलव ३ रेक्टरको यस भूकम्पले ८० जनाको ज्यान गयो । त्यस क्षेत्रका थुप्रै घर भत्किए । पशुचौपायाहरूको पनि ज्यान गयो । भूकम्पको केन्द्रविन्दु बझाङ भएको मानिन्छ ।

१३) विसं २०३७ (सन् १९८०) 

पश्चिम नेपालको बझाङमा आएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले २ सय जनाको ज्यान गएकाे थियाे । ५ हजार ६ सय जना घाइते भएका थिए । भूकम्पले नेपाल–भारत सिमानामा धेरै क्षति भएको थियो ।

१४) विसं २०४५ (सन् १९८८)

पूर्वी नेपालको उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण पूर्वी नेपलमा ठूलो क्षति हुन पुग्यो । भूकम्पका कारण १ हजार ९१ जनाले ज्यान गुमाउन पुगे । ६ हजार ५ सयभन्दा बढी घर भत्किए । भारतको बिहारका ५० हजार घरमा पनि भूकम्पका कारण क्षति पुग्यो ।

१५) विसं २०६८ (सन् २०११)

पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण १ सय ११ जनाले ज्यान गुमाउन पुगे । भूकम्पका कारण सिक्किमका धेरै घरहरूमा क्षति पुग्यो ।

१६) विसं २०७२ (सन् २०१५)

विसं २०७२ साल वैशाख १२ गते दिउँसो १२ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले काठमाण्डौ, गोरखा र सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्‍यायाे ।

भूकम्पका कारण ८ हजार ८ सय ५७ जनाले ज्यान गुमाए । भूकम्पले १० हजार ८ सय ३ वटा सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त भए । २ लाख ९७ हजार २ सय ६६ वटा घर पूर्ण क्षति भयो ।

भूकम्पमा परेर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका काठमाण्डौको वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौद्धनाथ स्तुपा, स्वयम्भूनाथ स्तुपामा क्षति पुगेको थियो । यसै भूकम्पमा परेर धरहरा पूर्णरूपमा क्षतिग्रस्त भयो ।

१७) विसं २०७२ (सन् २०१५)

विसं २०७२ साल वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पको परकम्पका कारण २ सय १३ जनाले ज्यान गुमाए ।

१७) विसं २०७९ (सन् २०२२)

पश्चिम नेपालको डोटी केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पका कारण ६ जनाको ज्यान गयो । भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

१८) विसं २०८० (सन् २०२३)

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६ दशमवल ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट तथा रुकुममा ठूलो जनधनको क्षति भयो । १ सय ५७ जनाभन्दा बढीले भूकम्पका कारण ज्यान गुमाए । त्यस्तै ९ सय ३७ घर पूर्ण क्षति तथा २ हजार ९ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको