Chauthoanga - Nepali News Media
आइसिसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जितका लागि नेपालले दिएको एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । 
नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले अविजित ५८ रन बनाए । उनले ९२ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाए हो । साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६ तथा ओपनर माइकल लेभिटले ३९ र म्याक्स ओ डोउडले २८ रन जोडे । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएर आउट भए । उनले ९३ बलमा आठ चौकाको सहयोगमा उक्त अर्धसतकीय इनिङ्स खेलेका हुन । उनको यो अन्तर्राष्ट्रिय एक दिवसीयमा आठौँ अर्धसतक हो ।
यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । बलिङमा नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले तीन तीन विकेट लिए । बास डी लिडेले दुई तथा रोलोफ भान डेर मार्वेले एक विकेट लिए। यस हारसँगै नेपालले चार खेलमा दुई अङ्क बनाएको छ । नेपाल तालिकाको तेस्रो स्थानमा छ । 
नेपाल यस सिरिजमा नामिबयासँग चार र दुई विकेटले पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्सलाई अघिल्लो खेलमा नौ विकेटले हराएको थियो । नेदरल्यान्ड्स चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । ६ अङ्क बनाएको बनाएको नामियबा शीर्षस्थानमा छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको