Chauthoanga - Nepali News Media
आज देखि दाङ क्रिकेट लिग सिजन २ सुरुः दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्सको विजयी सुरुवात

दाङ - नेपाल टेलिकम दाङ क्रिकेट लिग सिजन २ आजदेखि सुरु भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास सह्रानीय काम भएको बताउनुभयो ।

पछिल्लो समय नेपालमा क्रिकेटको सम्भावना निकै राम्रो भइरहेकाले स्थानीय स्तरबाटै यसको विकासका लागि सबै लाग्नुपर्ने बेला भएको बताउनुभयो । क्रिकेटले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन अहम् भूमिका खेलेको भन्दै डिसिएलले पनि यहीँबाट दक्ष खेलाडी उत्पादनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा दाङ क्रिकेट सङ्घका अध्यक्ष प्रदीप मजगैयाँले यहाँको क्रिकेट विकास गर्ने यो राम्रो अवसर रहेको बताउनुभयो । दाङको क्रिकेट विकासमा केन्द्रमा पहुँच नपुग्दा पनि हिजोका दिनमा अनेकन समस्या रहेको जनाउँदै अब आफू केन्द्रमा जोडिएको हुँदा दाङको क्रिकेट विकास लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै यो प्रयासमा सबैको साथ चाहिएको बताउनुभयो । 


दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका छन्। दंगालीले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई तथा पुरनधाराले देउखुरीलाई पराजित गर्यो। आजको पहिलो खेलमा दंगाली लायन्सले डिफेन्डिङ च्याम्पियन घोराही टाइगर्सलाई ९ विकेटले पराजित गर्यो। घोराही टाइगर्सले दिएको ११२ रनको लक्ष्य दंगाली लायन्सले १६.१ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।

दंगाली लायन्सको लागि सन्तोष कार्की र बसिर अहमदले समान ४५ रन योगदान दिए। सन्तोषले ४६ बलमा ३ चौका तथा बसिरले ३९ बलमा ३ छक्का प्रहार गरे। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिर खेलको प्लेयर अफ द म्याच घोषित भए। यस अघि टस जितेर ब्याटिंग रोजेको घोराही टाइगर्सले १८.२ ओभरमा १११ रन बनायो।

घोराहीको लागि अर्जुन घर्तिले सर्वाधिक ३२ रन योगदान दिए। रबिन थापाले अविजित १४ तथा ब्रिशब सेन्चुरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर दिलिप नाथले २ रन मात्र बनाउन सके। दंगाली लायन्सको बलिंगमा शंकर रानाले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४३ ओभरमा २१ रन खर्चिए। प्रकाश जैसी र बिर बहादुर घर्ति मगरले २/२ तथा कप्तान बिपिन खत्रीले १ विकेट लिए।

यस्तै आजको दोश्रो खेलमा पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो। देउखुरिले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रनित थापाले सर्वाधिक २६, राजु रिजालले २० , रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए। देउखुरीको बलिंगमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दिपक बोहराले १/१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

देउखुरीको लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा बिशाल बिक्रम केसीले १६ रन योगदान दिए। पुरनधारा च्यालेन्जर्सको बलिंगमा देब्रे हाते स्पिनर दिपेन्द्र रावत एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १/१ विकेट लिए। प्रतियोगिता अन्तर्गत दोश्रो दिन भोलि मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९:३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोश्रो खेलमा दिउँसो १:३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको  तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्। राउण्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म संचालन हुनेछ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको