Chauthoanga - Nepali News Media
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई आजै काठमाडौँ लगिदै छ ।  केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले आज बिहान महरालाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ लैजान लागिएको बताउनुभयो ।  

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आउनुभएको थियो भने रोल्पा हिँडेका भनिएका उहाँलाई भैरहवाबाट पक्राउ गरिएको हो । हिजो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको थियो । 

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिनुभएको थियो ।  

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।  महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको