Chauthoanga - Nepali News Media
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यात्रु अलपत्र

काठमाण्डाैः  पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको त्यहाँ रहेका प्रहरी निरीक्षक एवम् मुग्लिनका इन्चार्ज  सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।

पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उहाँले बताउनुभयो । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाण्डौको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी राेकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।

यस्तै, गएराति नै  चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा रहेको  नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक पनि बन्द भएको छ । रातिदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको