Chauthoanga - Nepali News Media
महँगीको मारमा उपभोक्ता : खानेतेलदेखि गाडी भाडा समेत महँगाे

काठमाण्डाै : पेट्रोलियम पदार्थको भाउ बढेसँगै यातायात व्यवसायीले आफूखुशी भाडा लिन थालेका छन्  ।लामो तथा मध्यमसँगै छोटो दूरीमा पनि यात्रु बढी भाडा तिर्न बाध्य भएका छन् । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा घटबढ हुँदै आएको छ । त्यसअनुसार यातायात व्यवस्था विभागले हिजोदेखि लागू हुने गरी एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा भाडा समायोजन गरेको छ । 

तर प्रदेशभित्र तथा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीमा पनि व्यवसायीले भाडा बढी लिन थालेका छन् । काठमाण्डौ उपत्यकामा न्यूनतम भाडा २० रुपैयाँ भए पनि पेट्रोलियम पदार्थको भाउ बढेसँगै हिजोदेखि नै २५ रुपैयाँ तिर्न थालेको यात्रुको गुनासो छ । गाडी चालकले पनि पेट्रोलियम पदार्थको भाउ बढेकाले भाडा बढाउन बाध्य भएको बताएका छन् । हवाई इन्धनको समेत भाउ बढे पछि आन्तरिक हवाई भाडा पनि बढेको छ । 

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएर १ सय ९९ रुपैयाँ पुर्याएको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको भाउ १ सय ९२ रुपैयाँ पुगेको छ । इन्धनमा भाउ बढेसँगै ढुवानी भाडा बढ्ने भएकाले खाद्यान्नलगायत अन्य सामग्री समेत महँगो हुने व्यापारीको भनाइ छ । उपभोक्ता महँगीको मारमा परेका छन् ।


अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको निहुँमा व्यवसायीले खानेतेलमा समेत भाउ बढाएका छन् । यसले नागरिकलाई थप मारमा पारेको छ । तर, मूल्य वृद्धिले उपभोक्ता मारमा पर्दा पनि राहत दिन भने सरकार उदासिन छ ।

मूल्य वृद्धि विरुद्ध सदन र सडकसहित सामाजिक सञ्जालमा विरोध भइरहेको छ । मूल्य वृद्धि फिर्ता गर्न र महँगी नियन्त्रण गर्न सरकारलाई दबाब परेको छ । तर, पनि सरकार भने यस विषयमा अझै गम्भीर बनेको छैन । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले इन्धनमा गरेको मूल्य वृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको