Chauthoanga - Nepali News Media

दाङ- दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको सुशासनमा  कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । आज जिल्ला प्रशासनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा भर्खरै सरुवाभई आउनुभएका प्रमुख जिल्ला अधिकारी वैद्यले सरकारले मार्ग निर्देश गरेको मापदण्डमा रही जनताको सेवामा कुनै पनि कमी नराख्ने बताउनुभएको हो ।
उहाँले प्रदेशको राजधानीका रुपमा रहेको जिल्लाको  समग्र शान्ति सुरक्षा , विकास निर्माणलगायत विषयमा चुनौति रहेको हुँदा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक  लिएको बताउनुभयो ।
जिल्लास्थित अग्रज पत्रकार, कियाशील पत्रकारलगायत प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसालसहितको टोलीसँगको छलफल तथा अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी वैद्यले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राख्दै विधि पद्धति र कानून अनुसार काम कारवाही अघि बढाउने अवगत गराउनुभयो ।
दाङको सीमा क्षेत्रमा देखा परेका समस्यालाई गम्भीरता पूर्वक लिएको बताउँदै नदीजन्य पदार्थको अवैध दोहन नियन्त्रण, खानीजन्य पदार्थको उचित व्यवस्थापन  तथा सडक पूर्वाधारमा पनि सबै निकायसँग सहकार्य गर्दै जवाफदेही  ढंगले काम गर्ने जिकिर गर्नुभयो ।
छलफल तथा अन्तरक्रियामा उपस्थित नागरिक अगुवा तथा पत्रकारहरुले सार्वजनिक सेवालाई चुस्त बनाउन, नागरिकको सेवालाई पहिलो प्राथमिकता दिन, सुचनाको सहज पहुँच बनाउन, विपत व्यवस्थापनलाई समयमै उचित व्यवस्थापन गर्न, विकास निर्माणका नाममा हुने नदीजन्य पदार्थको अवैध दोहन रोक्न, सीमा क्षेत्रको सुरक्षामा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको