Chauthoanga - Nepali News Media
दाङमा ४७ जना पिडितहरुद्वारा जिल्ला प्रशासनमा  उजुरी दर्ता

दाङ : दाङमा ४७ जना मिटर व्याज पिडितहरुले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएका छन् । सरकारले मिटर व्याज पिडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको हो । जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पिडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पिडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना जारी गरेको हो ।

प्रशासनका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पिडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् । घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । यस्तै राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३/३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।

मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् । तर पिडितले प्रमाण जुटाउन समस्या रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको