Chauthoanga - Nepali News Media
नेपालमा चालू आर्थिक वर्षमा मूल्यवृद्धि चर्कियो

काठमाडौँ :   नेपालमा चालू आर्थिक वर्षमा मूल्यवृद्धि चर्किएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले चैत महिनासम्ममा औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको देखाएको छ। 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ।

वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्य वृद्धिदर ७.२८ प्रतिशत रहेको देखिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। यसले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि ह्वात्तै बढेको देखाएको छ।

समीक्षा अवधिको २०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ। 

चैत महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ। पहाड र तराईको तुलनामा हिमाली भेगको मूल्य वृद्धि धेरै देखिएको छ। काठमाडौं उपत्यकाको सबैभन्दा कम वृद्धिदर रहेको देखिएको छ। 

२०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

मूल्य वृद्धिदर बढिरहे पनि आम्दानीमा पनि वृद्धि भैरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। चैत महिनामा तलब सूचकांक  ९ दशमलव ४४ प्रतिशत र ज्यालादर सूचकांक ८.२७ प्रतिशतले बढेको देखिएको छ।  

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको